माघ २ । पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनीले दोस्रो जित दर्ता गरेको छ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै गण्डकीले दोस्रो जित दर्ता गरेको हो। दोस्रो जित दर्ता गरेपनि लुम्बिनी भने यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
किनभने यस समूहबाट चारवटै खेल जित्दै नेपाल एपीएफ क्लब र चारमध्ये तीन खेल जित्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यता एक खेल जितेको प्रदेश नं. २ सहित चारवटै खेलमा पराजय भोगेकोे गण्डकी पनि प्रतियोगिताबाट बाहिरिसकेका छन्।
आइतबारको खेलमा गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीको जितमा देव खनालले अर्धशतकिय इनिङ्स खेले।
देवले २६ बलमा ५६ रन जोडे। उनले १० चौका र १ छक्का हिर्काए। सुशान्त थापाले २६ रनको योगदान गरे। गण्डकीका सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए। विशाल पौडेल र अशोक श्रेष्ठले एक–एक विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९ दशमबल १ ओभरमा अलआउट हुदै १ सय ४ रन जोड्यो। गण्डकीका लागि अनिल गुरुङले सर्वाधिक अर्धशतकिय इनिङ्स खेल। अनिलले ३९ बलको सामना गर्दै ५० जोड्दा ५ चौका र २ छक्का प्रहार गरे।
विधान श्रेष्ठले १४ रन बनाए। लुम्बिनीका अनिल खरेल सर्वाधिक ४ विकेट हात पारे। दिपेन्द्र रावत र कृष्ण कार्कीले समान दुई–दुई विकेट लिए। दुर्गेश गुप्ता र तुल बहादुर थापाले एक–एक विकेट हात पारे।


























