रसुवा, फागुन २४ । बन्द रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ। भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार माघ २९ गतेदेखि बन्द रहेको नाका शुक्रबार पुनः सञ्चालनमा आएको हो।
नाकाबाट ६ वटा कन्टेनरमा रेडिमेड र एक कन्टेनरमा जलविद्युत् आयोजनाको सामग्री रहेको छ। नेपाल आएका सात चिनियाँ कन्टेनर सामान लिएर सिगात्सेबाट सिधैं रसुवागढी आएको हो। त्यसरी सामान ल्याउँदा ढुवानी कम पर्ने बताइएको छ।गत जेठ २२ गतेबाट एकतर्फी नाका खुले पनि चीनले कोभिडको कारण देखाउँदै सजिलै नियमित सञ्चालन गरेको थिएन। नियमित रुपमा नै नाका सञ्चालन नभएको चाहिँ एक वर्ष भयो।
आर्थिक वर्षको सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यभन्दा १७ प्रतिशत मात्र राजस्व सङकलन गरेको छ। गत वर्ष ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपियाँ राजस्व संकलन गरेको थियो भने यस वर्षको आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म दुई अर्ब ३ करोड ४८ लाख ३२ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको छ। रसुवागढी नाका पुरानो व्यापारिक नाका हो। दुई देशबीचको छलफलपछि फागुन २१ गते पुनः सञ्चालनमा आएको छ। सीमा क्षेत्रमा कोभिड नदेखिएको र सामग्री आयात हुनुपर्छ भन्ने व्यवसायीको माग भएपछि सात वटा चिनियाँ कन्टेनरले नेपालतर्फ सामान झारेको हो।


























