कलैया, ०३ मंंसिर। महागढीमाई नगरपालिकाले १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मेला भर्नका लागि नेपाल र भारतबाट लाखौँको संख्यामा भक्तजन आउने हुँदा उनीहरूको सहजताको लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए।
समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मेला मङ्सिर ३० गतेसम्म चल्नेछ। भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए।
मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए। सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए। मेलामा सुरक्षा सहजताको लागि ६० थान सीसी क्यामरा जडान गरिनेछ। हरेक पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ। – रासस