काठमाडौं, माघ १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन्।
लिगको नवौं चरण अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन्। पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो। आर्मीले ८ खेलमा १४ अंक जोडेको छ। आर्मी चौंथो स्थानमा रहेको छ। आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ।
यस्तै दोस्रो खेलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र संकटाबीचको खेल पौने ५ बजे सुरु हुनेछ। थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। संकटालाई हराएर थ्री स्टार अंक तालिका सुधार्न चाहन्छ।
संकटा ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। संकटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ।


























