काठमाडौं, पुस २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन्।
बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचित मनोनीत पार्टी सदस्यलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभई निष्पक्ष ढंगले पार्टी सदस्य मनोनीत गरेको बताएका हुन्।
उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए। अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनर्स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताए।
उनले पार्टीमा मनोनयन सदस्यको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकका हिसाबले गरिनेसमेत बताए। उनले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने बताए।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मूल मुद्दाको रूपमा लिइएको भए पनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए।


























