लण्डन, असार १२ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ—कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ।
त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ। एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्। बयासी मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ।
सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन काम गरिरहेको बताए। सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था एनआरएनएसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताए। सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् भने अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् र ६५ राष्ट्रहरुबाट चार हजार ५०० भन्दा बढी लगानीकर्ता यसमा जोडिएको बताइएको छ। रासस























