चीन, जेष्ठ १२ । कोरोना भाइरसलाई लिएर अमेरिकाले षडयन्त्र तथा झुट फैलाइरहेको चीनका विदेश मन्त्रीले आरोप लगाएका छन्।
कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। उनले चीनले सूचना लुकाएको तथा बेलैमा उपयुक्त कदम नचालेका कारण अहिलेको अवस्था आएको आरोप लगाउने गरेका छन्। यस्तै ट्रम्पले कोरोना भाइरस चीनले निर्माण गरेको अभियोगसम्म लगाउने गरेका छन्।
चीनले ती सबै आरोप स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ। कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा थप तनावको अवस्था सिर्जना भएको छ।
सोही क्रम चीनका विदेश मन्त्री वाङ्ग यीले आइतबार पत्रकारसँग अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको बताएका हुन्।
चिनियाँ विदेश मन्त्री वाङ्गले अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिएका छन्। कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन उनले अमेरिकालाई आग्रह गरेका छन्। अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको उनको आरोप छ।
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागेका ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको काम अपर्याप्त रहेको भन्दै आलोचना हुने गरेको छ। ट्रम्पले भने कोरोना भाइरसको महामारीले यो रुप लिनुमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दोषी रहेको बताउँदै आएका छन्।
आइतबार चिनियाँ विदेश मन्त्री वाङ्गले महामारी नियन्त्रणका लागि चीनले जिम्मेवार भएर सुरक्षित रुपमा काम गरेको दाबी गरे।
गएको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर तीन लाख ४५ हजार मानिसको ज्यान गएको छ। अमेरिकामा सबैभन्दा धेरै ९७ हजार ६९८ जनाको मृत्यु भइसकेको छ।


























