काठमाडौं, पुस २६ । बागमती प्रदेशले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भयो।
लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।
बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे। रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए। रिजन ढकालले एक विकेट चट्काए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो।
बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रनको योगदान गरे। कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए।
लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे। सिद्धान्त शाही, विक्रम भुषाल तथा बसिर अहमदले एक–एक विकेट लिए।


























