चितवन २० पुस । ‘कोभिड–१९ ग्रुप’ले चितवनमा पहिलोपटक फुटसल प्रतियोगिता गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै जाँदा खेल क्षेत्रलाई पनि चलायमान बनाउने उद्देश्यले यही पुस २३ र २४ गते प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
भरतपुर–७, गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने खेलमा ३५ बढी समूहको सहभागिता रहने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष बिक्रम गुरूङले जानकारी दिए। प्रतियोगितामा सहभागिताका लागि १५ समूहले नाम दर्ता गराइसकेका उनले बताए।
तीन हजार रूपैयाँ प्रवेश शुल्क तोकिएको प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार र द्वितीय हुने समूहले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीलाई तीन हजार र उत्कृष्ट गोल किपरलाई दुई हजारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
करिब डेढ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारका लागि प्रायोजकमार्फत रकम उपलब्ध हुने उनले बताए। बाँकी खर्च भने आन्तरिकरुपमा व्यवस्थापन गरिने उनको भनाइ छ। पहिलोपटक खेलको आयोजना गर्न लागेको हुँदा आगामी दिनमा यसलाई निरन्तर आयोजना गर्दै लैजाने लक्ष्य लिइएको उनले बताए।


























