चितवन २० पुस । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले कुनै पनि दलमा आवद्ध नेताहरुले आदिवासी जनजाति समुदायको मुद्धा केन्द्रीय तहसम्म पुर्याउन नसकेको बताएका छन्। मंगलबार नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आदिवासी जनजातिका नेता शेर्पाले राजनैतिक दलमा बाहुनबाद हामी हुँदा आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा पुगे पनि उनीहरुले आदिवासी जनजातिका आवाज उठाउन नसकेको बताएका हुन्।
पार्टीभित्र आदिवासी जनजाति समुदायका आवाजलाई दबाउन खोज्ने प्रवृत्तिकै विरुद्ध आफूले तत्कालीन नेकपा एमाले पार्टी छाडेको बताउँदै नेता शेर्पाले भने, ‘सुवाशचन्द्र नेम्वाङ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुनलगायतका नेताहरुले आदिवासी जनजातिको नेतृत्व गर्दै केन्द्रीय राजनीतिमा पुगे पनि हाम्रा आवाज कहिल्यै सम्बोधन भएन। उहाँहरु पदका लागि सधैँ बाहुनबादमा लिप्त हुनुभयो।’
राजनीति गर्ने बेलामा पार्टीभन्दा जाति माथि भनेर नारा भजाए पनि नेतृत्व तहमा पुगिसकेपछि जातिवाद बिर्सने हुँदा आदिवासी जनजातिका मुद्धा सधैँ ओझेलमा परेको उनको भनाइ छ। नेताहरुले आदिवासी जनजाति समुदायलाई जहिले पनि प्रयोगमात्रै गर्दै आएको उनले आरोप लगाए। ‘हाम्रा आदिवासी जनजातिका नेताहरु हिजो पनि प्रयोग भए आज पनि भइरहेका छन्,’ उनले भने, ‘नत्र संघीयता आए पनि जातीय राज्य किन बनाउन सकिएन ?’
भारतमा विभिन्न जातिको बसोबास गरेकै आधारमा राज्य बन्दा नेपालमा सम्भव नहुने कुनै कारण नभएको उनले बताए। ‘हामी आदिवासी जनजातिलाई हिजो कांग्रेसले, त्यसपछि एमालेले र आज माओवादीले नराम्रोसँग प्रयोग गरिरहेको छ,’ उनले भने, ‘अझै पनि यसरी नै प्रयोगमात्रै भइरहने हो भने आदिवासी जनजाति समुदायले आफ्नो हकअधिकारबाट अझै कति समय बञ्चित हुनुपर्ने हो थाह छैन।’


























