पुस १२ । नेपालको महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित निकालेको छ।
ढाकामा सोमबार राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो।अपराजित रहेको नेपालले किर्गिस्तानमाथि २५-८,२५-१४ र २५-१७ को सेटमा जित निकालेको हो।
यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ। नेपालले ५ खेलमा १४ अंक जोडेको छ।
यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो।
यस्तै चौंथो खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो। अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग मंगलबार खेल्नेछ। सोमबार नै श्रीलंकालाई ३-२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो ।
उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो। श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन्।


























