काठमाडौं, पुस ५ । तीन सयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र ललितकला प्रज्ञा-प्रतिष्ठानका सचिवहरू क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सचिव प्रा।जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समिति गठन भएको हो।
प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार-गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्तरूपमा आयोजना गर्ने निर्णय गरेको छ। रासस


























