काठमाडौं, पुस ५ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ।
महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ। सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर भइरहेको छ। महाअभियान सुरु भएपछि वाग्मतीका विभिन्न खण्डका साथै रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, लतिलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ अभियान चलिरहेको छ। वाग्मती सफाइ महाअभियानको प्रेरणाले यी सफाइ अभियान सुरु भएका हुन्। हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ।
काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी एवं सांस्कृतिक सम्पदास्थलमा पनि वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सफाइ भइरहेको छ। नागरिकस्तरबाट सुरु भएको यो अभियानलाई स्थानीय सरकारले भने महत्व नदिएको भन्दै अभियानकर्मीले आलोचना गर्ने गरेका छन्। रासस


























