मान्म, मंसिर २९ । कालीकोट खाँडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थी कक्षा कोठाको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन्।
सातकोठे भवन रहेको सो विद्यालयमा चार कोठा जीर्ण भएपछि अहिले कक्षा कोठाको अभाव भई विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएका छन्। कुल २६५ विद्यार्थी रहेका विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यालय बाहिर चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन्। विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीले गुनासो गरे,“विद्यालयको दयनीय अवस्थाका विषयमा सरोकारवाला निकायले चासो दिएनन्”, उनले भने,“विद्यालयका अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय एकाइलाईसमेत जानकारी दिएको हुँ।”
विद्यालयमा अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक बोगटीको गुनासो थियो। हिउँदमा घाममा पढ्न त ठिकै हो, तर वर्षाको समयमा पानी परे चिसो कक्षामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बोगटीले बताए। तीन निजी स्रोत, एक स्थायी, एक बाल विकासका शिक्षिका र एकजना कार्यालय सहयोगी रहेको सो विद्यालयको भौतिक संरचना भने दयनीय रहेको स्थानीयवासी जयबहादुर विकले बताए। रासस


























