मंसिर २९ । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ। श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ।
श्रीलंका अंक विहीन रहेको छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन। श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।नेपाललाई हराएर श्रीलंका पहिलो अंक जोड्ने चाहन्छ।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन्। शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।


























