काठमाडौं, मंसिर २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो।
खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए। मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए।
पुलिसका मान बहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाए। रबि पासवानको कर्नरमा सिक्स यार्ड बक्सबाट उनले बाहिर प्रहार गरे। खेलको ४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए। पेनाल्टी बक्सभित्रबाट उनको प्रहार पोस्टको माथिबाट बाहिरिएका थिए।
५७ औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोले पेनाल्टी एरियाबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन।
दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो। सुमन लामाले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा फर्काए। रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गरे।
खेलको ६३ औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरमा अन्जन राईको उत्कृष्ट हेडर बल हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले गोललाईनबाट क्लियर गर्दै गोल हुनबाट जोगाए।
७४ औं मिनेटमा अन्जनकै प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले गोललाईनबाट बचाए। यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ। पुलिस पाँचौ स्थानमा उक्लिएको छ।
हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ। शेर्पा लिगको १२ औं स्थानमा रहेको छ। खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ चुनिए। पुलिसका अन्जन राईले इमर्जिङ प्लेयर अवार्ड हात पारे।


























