चितवन, २९ जेठ। नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताको तागत र पल्ला भारी भएको बेला मस्ती गरे देश दुर्घटनामा जान सक्ने भन्दै नेतृत्वपक्षलाई सचेत गराएका छन्। बुधबार चितवनको भरतपुरमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘जनताको तागत र पल्ला भारी भएको बेला जनताका पक्षधरहरुले रिल्याक्स गरे भने दुर्घटना हुन सक्छ।’ नेपालको राजनैतिक इतिहासमा परम्परागत सोच हाबी हुँदै आएकोले अबका दिनमा परम्परागत सोचलाई परिवर्तन गरी नयाँ सोचका साथ काम गर्नुपर्ने उनले बताए। ‘इतिहासको घटनाक्रमको समीक्षा गर्दा सतर्क हुनुपर्ने बेला आएको छ, आत्तिइहाल्नुपर्ने अवस्था भने छैन,’ उनले भने, ‘तर, अब पनि परम्परागत सोचले जित्यो भने देश ठूलो दुर्घटनामा पर्न सक्छ।’

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेकोले शान्ति सम्झौतापछिको परिवर्तन गुणात्मक रहेको उनको भनाइ छ। ‘हिजो मात्रात्मक परिवर्तन उल्टिँदा ठूलो दुर्घटना भएजस्तो लाग्दैनथ्यो,’ उनले भने, ‘किनकि त्यतिबेला परिवर्तन भए पनि निरंकुश राजतन्त्र थियो। राजतन्त्र अन्तर्गतकै शासन प्रणाली भएकोले त्यति भयानक नदेखिएको मात्रै हो। तर, अब त्यो स्थिति रहेन, त्यसैले अहिलेको गुणात्मक परिवर्तन पनि उल्टियो भने इतिहासमा नदेखिएको दुर्घटना हुने खतरा पैदा हुन्छ र यो भयानक हुन्छ।’ त्यसैले अबको राजनैतिक नेतृत्वलाई सफल पार्न सबैले राज्य संरचनालाई पनि राजनैतिक मुद्धा अनुकूल रुपान्तरित गरिनेछ भन्ने कुराको संकल्प गर्नु जरूरी रहेको उनको भनाइ छ। तर, पार्टीभित्र अझै पनि परम्परागत सोँचमा गरिएको लडाइँको अन्त्य नभएकोले देश विकास र सरकारलई बलियो बनाउनको लागि राजनैतिक नेतृत्वमाथि भइरहेको परम्परागत सोचलाई त्याग्नुपर्ने उनले बताए।

पार्टी एकता केही दिनभित्रै टुंगिन्छ
पार्टी एकताको विषयमा अध्यक्ष प्रचण्डले जिम्मेवारी बाँडफाँडलाई अन्तिम रुप दिने क्रममा रहेको बताए। तर, पार्टी एकता भनेको त्यति सजिलो काम नभएकोले धेरै सोच बिचार गरेर एकता गर्नुपर्ने हुँदा एकता प्रकृयामा केही ढिलाई भएको उनले बताए। ‘एकता भन्ने कुरा विभाजन जस्तो सजिलो छैन,’ उनले भने, ‘बहस, संघर्ष र थुप्रै जटिल प्रकृयालाई एकतामा ढाल्ने कुरा उत्तिकै जटिल छ। भत्काउन जस्तो थोरै समयले एकता बलियो हुँदैन। त्यसैले छिटो गर्छुभन्दा बिग्रिन सक्छ, हतार गर्दा दुर्घटना हुन सक्छ।’ पार्टी एकताको तयारी नै अन्तिम चरणमा पुगिसकेकोले यस विषयमा निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए।
भिडियो हेर्नुहोस्: