चितवन, मंसिर २२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको चौथो जिल्ला अधिवेशन एंव आठौँ साधारण सभा यही मंसिर २५ गते गर्ने तयारी भईरहेको छ। फोनिज चितवन कार्यसमितिको बैठकले मंसिर २५ गते साधारण सभा र अधिवेशन गर्ने तयारी गरिरहेको हाे।
२०६७ साल असार २४ गतेका दिन चितवनको सौराहामा आयोजना गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय भेलाकै अवसरमा सन्तकुमार चौधरीको अध्यक्षतामा तर्दथ समिति गठन भएको थियो।
२०६७ कार्तिक १५ गते भएको पहिलो अधिवेशनबाट सन्तकुमार चौधरीको नेतृत्वमा फोनिज चितवन गठन भएको हो। हालसम्म दुई कार्यकाल सन्तकुमार चौधरी र एक कार्यकाल सन्दीपकुमार श्रेष्ठले नेतृत्व गरिसकेका छन्।
२०७३ चैत १४ गते सम्पन्न तेस्रो अधिवेशनबाट आएको नेतृत्वले गतवर्ष नै अधिवेशन गर्नुपर्ने भए पनि कोभिड -१९ का कारण आजसम्म आइपुगेको हो। तीन वर्षे कार्यकालका लागि यो अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
जिल्ला अधिवेशनको अवसरमा फोनिज चितवनले ‘फोनिज सन्देश’ नामक स्मारिका समेत सार्वजनिक गर्न लागेको फोनिज चितवन सचिव तुलमान गुरुङले जानकारी दिए।
फोनिजमा गुरुङ, मगर, नेवार, राई, तामाङ, दराई र थारु पत्रकार सङ्गठन आबद्ध रहेका छन्।


























