चितवन ०९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिेशनअन्तर्गत चितवनमा संघीय निर्वाचन क्षेत्रसम्मको सबै अधिवेशन सम्पन्न भइसकेका छन्। अब जिल्ला तहको अधिवेशनको लागि नेता कार्यकर्ता दौडधुपमा लागेका छन्। जिल्लाको नेतृत्व लिने दाउमा नेताहरुको रस्साकस्सी पनि राम्रैसँग चलिरहेको छ। आम जनताको ध्यान भने सबैभन्दा धेरै सभापति र सचिव पदमा छ।
आकांक्षीहरु पनि तुलनात्मकरुपमा सभापति र सचिव पदमै बढी देखिन्छन्। भोलि मनोनयन दर्ता गरेर पर्सि अर्थात् मंसिर ११ गते हुने जिल्ला अधिवेशनको नेतृत्व हत्याउन गाउँदेखि केन्द्रसम्म चुनावी प्रचारप्रसारमा जोडतोडले लागी परेका छन् उमेदवारहरु। उनीहरुले समाजिक सञ्जालसँगै आफ्ना कार्यकर्तालाई भरपुर प्रयोग गरिरहेका छन्।
यसै क्रममा नेपाली कांग्रेस चितवनको सचिव पदका लागि युवा नेता सामाजिक व्यक्तित्व दीपक अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। हजुरबुबा गिरधारी अधिकारी र बुबा पूर्णप्रसाद अधिकारीले कांग्रेसमै रहेर रानीति गरेकै आधारमा आफूलाई कांग्रेसमा समर्पित गरेको बताउँदै यसपटकको अधिवेशनमा आफूले जिल्लामा सचिव पदमा रहेर काम गर्न चाहेको बताए।
करिब डेढ दसक यताको राजनैतिक अनुभवलाई नेतृत्वमा परिवर्तन गराउन पनि आफूले सचिव पदमा उमेदवारी घोषणा गरेका उनले बताए। हजुरबुबा र बुबालाई नै प्रेरणाको स्रोत मान्ने उनले कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन्। संविधान सभाको निर्वाचनमा पनि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र त्यसपछिको उपनिर्वाचनमा रामकृष्ण घिमिरेलाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाो बताउने अधिकारीले युवा, विद्यार्थी र तरुण दलको संयोजक भएर काम गरेका थिए।
नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका अधिकारीसँग नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य, नेपाल तरुण दलको जिल्ला सदस्य हुँदै १३औं महाधिवेशनमा जिल्ला सदस्य भएर काम गरिसकेको अनुभव छ। जिल्ला सदस्य हुँदा यातायात तथा श्रम विभाग संयोजक पनि काम गरेका थिए।
जिल्लाको सुगम क्षेत्रमात्र नभई माडीदेखि कोराक, काउलेजस्ता विकट क्षेत्रबाट समेत आफूलाई युवा पुस्ताको साथ रहेकोले जीतको सुनिश्चिततासहित उमेदवारी घोषणा गरेको उनको भनाइ छ। कांग्रेसलाई चलायमान बनाउन र सच्चा कांग्रेस बनाउने योजनामा रहेको हुँदा यसपटक मत दिएर सहयोग गर्न उनले आग्रह गरे।


























