मंसिर ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ।
आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन्। सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो। ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो।
सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ। डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ।
‘पहिलो पटक लिग खेल्दैछौ र टिमलाई यसको खासै ज्ञान पनि छैन। हामी लिगलाई अरुजस्तो लिदैनौ,’ प्रशिक्षक केसी भन्छन्, ‘हामीले मेहनत गरेका छौ अनुभवलाई प्रयोग गरेर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ। सुरुवाती खेल सिक्ने मौका हुनेछ।’
सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफुलाई प्रमाणित गर्ने अवसर भएको बताउछन्।
‘चुनौतीको रुपमा लिएको छ’। यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो। अरु खेलाडीहरुसँग अनुभव साट्ने छु। टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन्,’ उनले भने।
फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ। तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन। फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताए।
‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैटौं सातौसम्म आउने रहेको छ,’ मिश्रले भने, ‘सातदोबाटो बलियो छ, नयाँ क्लब र नयाँ जोसका साथ आएको छ।’
कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन्।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो। यस पटकको लिग विजेताले ७५ लाख पाउने छन्। यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन्।


























