कार्तिक २२ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार भारत र नामिवियाबीच खेल हुनेछ।
सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबईमा राती पौने ८ बजे सुरु हुनेछ। सेमिफाइनलमा प्रवेश गर्न नसकेका यी दुईले जारी विश्वकपको अन्तिम खेल खेल्दैछ।
प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबीचको खेल केवल औपचारिकतामा मात्र सिमित हुनेछ भने यी दुई टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइएको रुपमा रहनेछ।
प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ। यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ।
भारतले पाकिस्तानसँग १० र न्यूजिल्यान्डसँग ८ विकेटको हार ब्योहोरेको थियो भने अफगानिस्तानलाई ६६ रन तथा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो।
अर्कोतर्फ नामिवियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेपनि अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो। नामिवियाले तेस्रो खेलमा पाकिस्तानसँग ४८ रन तथा न्यूजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो।
त्यसैले आजको खेलमा दुबै टोली जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।


























