कार्तिक २० । स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ।
स्कटल्यान्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गर्दै अन्तिम चारको सम्भावना जिवितै राखेको हो।
भारतलाई जित दिलाउने क्रममा केएल राहुलले ५० रन रोहित शर्माले ३० रन जोडे। स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे।
यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो। स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे।
भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे। जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए।
जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ।
यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा रहेको छ।
अफगानिस्तानको पनि चार खेलमा चार अंक छ। तर रनरेटमा भारत अघि छ।
यता स्कटल्यान्डले भने खेलेका चारवटै खेलमा पराजय भोगेको छ। भारतले आफ्नो अन्तिम खेल नामिविया तथा न्यूजिल्यान्डले अफगानिस्तानको सामना गर्नेछ।
अब भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठूलो अन्तरले पराजित गर्नुपर्छ साथै अफगानिस्तानले न्यूजिल्यान्डमाथि जित निकाल्नुपर्छ। साथै रनरेट भारतको पक्षमा हुनुपर्नेछ।


























