वीरगञ्ज, कार्तिक १९ । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि छर्न थालेको छ। जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। यो काम आगामी मङ्सिर १० गतेसम्म सञ्चालन गरिने जनाइएको छ।
यसअघि यही कात्तिक २ देखि ११ गतेसम्म महानगरले लामखुट्टेको लार्भा मार्न खुला नाला र खाल्डाखुल्डीमा ब्लिचिङ पाउडर छरेको थियो। लामखुट्टकोे फुल लार्भा र प्युपा हुँदै वयस्क अवस्थामा पुग्छ। स्थिर अवस्थामा रहेको तालपोखरी, खेत, खाल्डाखुल्डीमा जमेको पानीमा यो हुर्कने गरेको छ। डेंगु फैलाउने लामखुट्टे टायरमा जमेको पानी, फ्रिज, गमला वा ट्याङ्कीमा हुने सफा पानीमा हुर्कन्छ।
चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्यधिक प्रकोप देखिन थालेको छ। लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने काम गर्दै आएको छ। रासस


























