वीरगञ्ज, कार्तिक १९ । पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ। ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उनको भनाइ थियो।
चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना बृद्धि हुने गरेको छ। सीमापारिबाट समेत अपराधी नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाइएको छ।
प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी सुरक्षा रणनीति, कारबाही, ड्युटी परिचालनका साथै ट्राफिक व्यवस्थापनसम्मको योजना जारी गरेको हो। रासस


























