महोत्तरी, कार्तिक १८ । महोत्तरीमा सुमो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार बिहान बर्दिबास नगरपालिका वडा नम्बर ३ कारेभोगटे पुलस्थित ना १ ज ५७४७ नम्बरको सुमोले स १० प ३९९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सुमो गाडी बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै थियो भने मोटरसाइकलविपरीत दिशाबाट आउँदै थियो। त्यसैक्रममा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय सुन्धिर मिश्रा गम्भीर घाइते भएका थिए।
उनको उपचारको लागि बर्दिबास शुभ स्वस्तिक अस्पतालमा पठाइएको थियो। थप उपचारको लागि उनलाई गोल्डेन अस्पताल विराटनगर मोरङमा पठाइएको थियो।
त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। शव सोही अस्पतालमा राखिएको छ। चालक र दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।


























