भक्तपुर, कार्तिक १८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्।
नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले बिहीवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधिपद्दति जोगाउन जरुरी रहेको बताए।
नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेबारे अब आमकार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए।
उनले कांग्रेस कमजोर भएकै कारणले कम्युनिस्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए।
नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे। सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महंगीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसक्दा आफैं फसेको नेता सिंहले टिप्पणी गरे।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्व सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापति लगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए। रासस

























