कार्तिक १८ । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी आइपेजिगसँग बराबरी खेलेको छ।
बुधबार राति समूह एको खेलमा पीएसजीले आरबी आइपेजिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए। तर इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब लाइपेजिगले फ्रान्सेली क्लबसँग अंक खोस्न सफल रह्यो।
घरेलु टोली लाइपेजिगले आठौं मिनेटमा क्रिस्टोफर नन्कुकुको गोलमा सुरुवाती अग्रता लिएको थियो। पाहुना टोली पीएसजीका विजनाल्डमले २१ औं मिनेटमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए।
विजनाल्डमले मार्किन्होसको पासमा ३९ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा लाइपेजिगका डोमिनिक जोबोस्ज्लेले गोल गर्दै पीएसजीलाई निराश पारे। पीएसजी मुख्य फरवार्ड लियोनल मेस्सी बिनै मैदान उत्रिएको थियो।
बराबरीको नतिजाले पीएसजीलाई समूह एको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले उछिनेको छ। सिटीले बुधबार रातिनै बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले हराएको थियो।
पीएसजी ८ अंक सहित दोस्रो स्थानमा छ। लाइपेजिगले चार खेलमा पहिलो अंक जोड्न सफल रह्यो। एजेन्सी


























