कार्तिक ८ । अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले बक्सिङ डे टेस्ट क्रिकेटका लागि मेलवर्न क्रिकेट ग्राउन्डमा ८० हजार दर्शकलाई अनुमति दिने भएको छ।
एसेज टेस्ट क्रिकेट अन्तर्गत इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बक्सिङ डे टेस्ट डिसेम्बर २६ तारिखबाट सुरु हुनेछ। कोभिड–१९ नियन्त्रणको प्रयास स्वरुप लगाइएको प्रतिवन्धहरु थप खुकुलो पारेपछि भिक्टोरियाले ८० हजार भन्दा बढी दर्शकलाई अनुमति दिने जनाएको हो।
मेलवर्नमा भर्खरै छैठौ चरणको लकडाउन अन्त्य भएको छ जुन विगत दुई वर्षदेखि पटक पटक लगाइएको थियो। गत वर्ष सो मैदानमा भारतविरुद्ध भएको बक्सिङ डे टेस्टमा केवल ३० हजार दर्शकलाई अनमति दिइएको थियो।
गत अप्रिलमा एएफएल खेलका लागि सो मैदानमा ७८ हजार दर्शकलाई अनुमति दिएपनि त्यसपछि भएको खेल प्रतियोगितामा भने ठूलो संख्यामा दर्शकको आगमन भएको थिएन। भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयूजले बक्सिङ डे टेस्टको पहिलो दिन ८० हजार भन्दा बढी दर्शकको अपेक्षा रहेको बताए।


























