कार्तिक २ । श्रीलंकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ।
आबुधाबीमा सोमबार राति नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो। नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए। यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए। कुशल परेराले ११, दिनेश चण्डीमालले ५ तथा पाथुम निसान्काले ५ रन बनाए। नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक एक विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो। नामिबियाका लागि क्रेग विलियम्सले २९ रन जोड्दा गेर्हार्ड एरास्मुसले २० रन बनाए। जेजे स्मिथले अविजित १२ रन जोडे। नामिबियाका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ विकेट लिए। लाहिरु कुमारा र वाविन्दु हसरंगाले २/२ विकेट लिए। चामिका करुनारत्ने र दुश्मन्था चामिराले १/१ विकेट लिए।


























