चितवन, असोज ३१ । चितवनका पत्रकार द्वारिका नेपालको मस्तिष्कघातका कारण निधन भएको छ। उनको उपचारको क्रममा आज (आइतबार) बिहान काठमाडौंँ स्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको हो।
असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान साढे ९ बजे अचानक बेहोस भएका थिए। बेहोस भई अर्धचेत हुनुभएका नेपाललाई तत्काल एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो।
मेडिकल कलेजमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौँको ग्राण्डी अस्पतालमा पुर्याएर आइसियुमा राखेर उपचार थालिएको थियो। डाक्टरका अनुसार ब्रेन ह्यामरेज भएर नेपालको निधन भएको हो।
पत्रकार नेपाल नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपालका सदस्य, बागमती प्रदेश कमिटीका सदस्य, लामो समयदेखि चितवनको कालिका एफ.एममा कार्यरत थिए। उनी शिक्षण पेशमा समेत संलग्न थिए।
उनले पछिल्लोपटक भरतपुरस्थित सनराइज स्कुल, नारायणी पोलिटेक्निक ईन्स्टिच्युट (एनपिआइ) कलेज र उषा बोर्डिङ स्कुल मंगलपुरमा नेपाली बिषय प्राध्यापन गर्दथे। स्वर्गीय नेपालको परिचय पत्रकारिता र शैक्षिक क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ। उनका `ओझेल परेका तस्बिरहरू´ गीतसङ्ग्रह (२०६१) र `तस्बिरहरूको जुलुस´ कवितासङ्ग्रह (२०७२) सहित सहलेखनका रूपमा कविता र गजलका अन्य कृतिहरू पनि प्रकाशित छन्।
उनको परिचय पत्रकारिता क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ। उनका थुप्रै कृतिहरु प्रकाशित छन्। उनी हाल गजल मञ्च चितवनका अध्यक्ष थिए।
उनको एक छोरा, एक छोरी र श्रीमती छन्। स्वर्गीय नेपाललाई आजै चितवनको भरतपुर–१०, रमाइलो चोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई देवघाटमा अन्त्येष्टि गरिने उनका भाइ रामकान्त पौडेलले जानकारी दिए।


























