गोरखा २७ असोज । सूर्योदय तमू सांस्कृतिक युथ क्लब अजिरकोट-४, सिम्जुङद्वारा बडा दसैँको अवसरमा आयोजना गरेको खुला फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब ताजी, लम्जुङले उपाधि चुमेको छ। बुधबार सम्पन्न फाइनल खेलमा थ्रीस्टारले जनज्योति क्लब ओलाङ गोरखालाई १-० गोलअन्तरले पराजित गरेको हो। उपाधि उचालेको थ्रीस्टारले नगद रु ५० हजार रुपैयाँ पुरस्कार जितेको छ भने उप-विजेता बन्न सफल जनज्योति युवा क्लबले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ। दुवै टिमले पुरस्कार राशिको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसमेत हात पारेका छन्।
फाइनल प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त १० मिनेट समय थप गरिएको थियो। सोही समयमा थ्री स्टारले १ गोल गरेपछि सोही गोल निर्णायक बन्यो। २७ टिम सहभागी उक्त खेलमा आयोजक टिम सूर्योदय तमू साँस्कृतिक युथ क्लब ग्रुप ‘सि’ र फाइभ स्टार फुटबल क्लबले सान्त्वना स्थान हासिल गरेको छ।
यी दुवै टिमले नगद रु १०/१० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। खेलकुदको विकास गर्ने उद्देश्यले सूर्योदय तमू सांस्कृतिक युथ क्लबले विगत पाँच वर्षदेखि हरेक वर्ष दसैँको अवसरमा खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। खेल पाँच दिनसम्म सञ्चालन भएको थियो।
https://fb.watch/8CEsNO0UIB/
Facebook Comments


























