असोज २७ । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन।
मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो। खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए।
तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए। यस्तै खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो।
पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए।


























