असोज २७ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। यो घटनाबाट मुगु शोकमा डुबेको छ।
दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक ९कामी०, ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ। वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ।
यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


























