असोज २७ । युरोपको विश्वकप फुटबल छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई फारकिलो गोल अन्तरले पराजित गरेको छ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। रोनाल्डोले खेलको ८औं, १३औं र ८७औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। यो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १०औं ह्याट्रिक हो। योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुगेको छ। रोनाल्डोले १८२ खेलमा ११५ गोल गर्दै सबै भन्दा बढी गोल गर्ने खेलाडीको रुपमा अगाडी बढाएका छन्।
त्यस्तै पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र जोआओ पल्हिन्हाले एक एक गोल गरेका थिए।
यो जितपछि पोर्चुगलको समुह ए मा ६ खेलमा १६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ। यस समुहमा सर्बिया ७ खेलमा १७ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै लक्जेम्बर्गको ६ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ।


























