असोज २७ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन।
तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ। साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो।
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन्।
‘टिमको तयारीको बारेमा भन्नुपर्दा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ र बंगलादेशसँग खेल्न तयार छौँ,’ प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘हाम्रो टोलीले उच्च मनोबलका साथ खेल्नेछ र फाईनल प्रवेशका लागि राम्रो नतिजा निकाल्नेछौ।’
राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ।
नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो। तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो।
बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन। तर, नेपाल बंगलादेशलाई हराउने योजनासहित मैदान उत्रनेछ। बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ। बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
यस समूहमा माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो। भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ। फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ। भारतलाई भने जितको बिकल्प छैन।
पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ। श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ।


























