असोज २६ । अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया ‘बी’ छनोट स्थगित भएको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार एसिया ‘बी’ को छनोट खेलहरु स्थगित भएको जनाएको छ। कोरोना भाईरसको महामारीको कारण छनोट खेल स्थगित गरिएको हो।
छनोट खेल मलेसियामा नोभेम्बर ९ देखि १५ सम्म आयोजना हुने बताईएको थियो। तर, कोभिड-१९ को कारण भ्रमण कठिनाइ र क्वारेन्टिनको कडा नियमको कारण छनोट स्थगित गरिएको आईसीसीले जनाएको छ।
छनोट खेल स्थगित भएपछि यस क्षेत्रबाट हङकङ अर्को चरणमा प्रवेश गरेको छ। छनोट खेल्ने टिममध्ये आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेपछि हङकङले अर्को चरणमा प्रवेश पाएको हो। यस छनोटमा हङकङसहित भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्याण्ड रहेको थियो।
अब हङकङले क्षेत्रीय छनोट खेल्नेछ। यस छनोटमा नेपाल, फिलिपिन्स, सिंगापुर, युएई र जिम्बावेले प्रतिस्पर्धा गर्ने छन्।


























