गोरखा २३ असोज । नेपालीहरुको महान पर्व बडा दसैँ सुरु भइसकेको छ। यही अवसरमा गाउँगाउँमा विभिन्न खालका प्रतियोगिताहरु सुरु भइसकेका छन्। यसै सिलसिलामा सूर्योदय तमू सांस्कृतिक युथ क्लब अजिरकोट–४, सिम्जुङले पनि खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ। शुक्रबारबाट सुरु भएको खेलमा २७ टिमले सहभागीता जनाएका छन्।
सिम्जुङ गाउँमा दसैँको मौकामा नियमितरुपमा खुला फुटबल प्रतियोगिता आयोजना भएको यो चौथो संस्करण हो। आगामी वर्षहरुमा पनि खेलकुदको विकास र प्रवर्द्वनको लागि खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै जाने आयोजकले जनाएको छ।
सिम्जुङ खेल मैदानमा भइरहेको प्रतियोगिताबाट उपाधि चुम्ने समूहले नगद ५० हजार रुपैयाँको पुरस्कार उचाल्ने छ। साथमा ट्रफी र प्रमाणपत्रसमेत प्राप्त गर्नेछ। यस्तै द्वितीय हुने समूहले भने नगद २५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र पाउनेछ।
यसपटकको खेलकुद प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन दिने उद्देश्यले दुई समूहलाई सान्त्वना पुरस्कारवापत नगद दस/दस हजार रुपैयाँका दरले पुरस्कृत गरिने क्लबका अध्यक्ष रञ्जित गुरुङले जानकारी दिए। प्रतियोगितामा गोरखाका विभिन्न गाउँ र लम्जुङ जिल्लाका पनि विभिन्न गाउँबाट खेलप्रेमी खेल खेल्न र खेलाडीलाई हौसला प्रदान गर्न दर्शकको रुपमा सिम्जुङ पुगेका छन्। खेल फूलपातीको दिनसम्म लम्बिन सकिने आयोजकले जनाएको छ।


























