काठमाडौं, असाज २१ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र पोखराबीचको खेल पौने १ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो। तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्ने पाएको हो।
यस वर्ष भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेको हो। वर्षाको कारण लिग चरणको भेट नतिजा विहीन सकिएको थियो। यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्।


























