काठमाडौं, असोज १४ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्री जितको खोजीमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र ललितपुरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।
ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ। ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन। ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























