काठमाडौं, असोज १२ । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगर प्रशिक्षणमा फर्किएका छन्।
घुँडाको चोटबाट मुक्त हुँदै विमल प्रशिक्षणमा फर्किएका हुन्। कतारबाट फर्किएपछि विमलले यू-२३ टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा जारी प्रशिक्षणमा विमल सामेल भएका हुन्। राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए। उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो। त्यसपछि उनको गत मार्चमा शल्यक्रिया गरिएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा विमलले कतारको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेका थिए।
एन्फाको अनुशासनको कारबाहीमा परेपछि विमलले लामो समयबाट राष्ट्रिय टिमबाट खेलेका छैनन्। एन्फाको कारबाही फुकुवापछि उनी राष्ट्रियमा फर्किएका थिए। तर, चोटको कारण उनी टिम बाहिर रहदै आएका छन्। विमलले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप समेत गुमाउने छन्। साफ शुक्रबारबाट सुरु हुँदैछ।


























