काठमाडौं, असोज १२ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ।
टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो। आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेको हो।
काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो। काठमाडौं र पोखराबीचको खेल मध्यान्न सवा १२ बजे सुरु हुने तालिका थियो। वर्षाको कारण सोमबार दुई खेल स्थगित भएको थियो । सोमबारको खेल अर्को मितिमा हुनेछ।
त्यस्तै आइतबार एक खेल रद्द भएको थियो। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो। सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो। भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























