काठमाडौं, असोज ९ । काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले।
रायनले अविजित रहदै ७३ रन जोडे। उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए।
यस्तै राजु रिजाल १९ रनमा अविजित रहे। अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए। ललितपुरका पवन सर्राफले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।
ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए। भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए।
ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए। ललित राजवंशी सुन्य रनमा अविजित रहे। काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए। रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए।
काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन्। यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ। ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।


























