बर्दिया, असोज ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेर ‘केही कुहिएका पात झरेको’ बताएका छन्।
बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षहरुलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभइ पात झरेको बताएका हुन्।
उनले भने,’पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन्। अदालतले फैसला गर्यो भने उनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन।’
उनले अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको बताए। जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने दाबी गरे। उनले जनताका हातमा मतपत्र परेपछि विपक्षी दलले जनादेशको महत्व बुझ्ने दाबी गरे।
ओलीले दुई तिहाईको सरकारले गरेको विकास देख्न नसकी पार्टीभित्रै पार्टीभित्रै मोर्चाबन्दी हुँदा यो स्थिति आएको बताए।
विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आफ्नो पालाको सरकारले गरेको विकास हेरेर आत्तिएको उनले दोहोर्याए। अध्यक्ष ओलीले अहिलेको गठबन्धनको मोर्चालाई देश विरोधी मोर्चाको संज्ञा दिए।


























