काठमाडौं, असोज ७ । संघीय संसदको दुबै सदनको बैठक आज (बिहीबार) बस्दैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ।
संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ। गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए।
एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ। सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गरिरहेको छ।


























