काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले नियुक्तीको पत्र केहीबेरमा सार्वजनिक गर्नेछ। लगत्तै शपथ ग्रहणको कार्यक्रम हुनेछ। त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।
नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने छिन्। आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन आजै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो।


























