चितवन, फागुन १७ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने भएको हो।
फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ;हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै उक्त जानकारी गराएको हो। तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ।
फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो। फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ। पछिल्लो समय फाउण्डेशनलाई आर्थिक अभाव झेल्नु परेको छ। यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ। २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो। रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ। रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ।