महोत्तरी, असोज २ । नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको बताएकी छन्।
शनिबार महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने बताइन्।
नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन्।
‘मैले माधव कमरेडलाई पटक(पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु’, उनले भनिन्, ‘तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो। उहाँको आफ्नै कुरा होला।,
आफू सरकारमा जाँदा नेकपा एकीकृत समाजवादी दर्ता नभएको बताउँदै उनले अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्यले एमाले छाडेकाले अल्पमतमा परेको मुख्यमन्त्री शाक्यले बताइन्।
नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन्।
उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिवद्धता जनाइन्।
महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको अवस्थामा जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहणसमेत नलिएकोतर्फ नेता कार्यकर्ताले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए।


























