काठमाडौं, भदौ २७ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए।
सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ। तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ। यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन्।
गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ। अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत छैन। तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही निर्णयका आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ।


























