काठमाडौं, भदौ २५ । संसद् बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन्।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ। सभामूख एमाले विभाजनको मतियार भन्दै एमालेले संसद बैठक अवरोध गरिरहेको छ। एमालेले बैठक अवरोध गरेपछि सभामुखले संविधानको धारा १०५ स्मरण गराएका हुन्।
नेपालको संविधानको धारा १०५ मा लेखिएको छः नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन।
एमाले आफैले एमाले विभाजनविरुद्धमा सर्वोच्चमा रिट दायर गरेको छ। तर सुनुवाइ भने सुरु भएको छैन। एमाले आफैले सर्वोच्चमा रिट दायर गर्ने र आफै अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराएको भन्दै सभामुखले संविधानको व्यवस्था स्मरण गराएका हुन्।


























