भदौ २५ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।
पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो। नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ। डे नाइट (दिन र रातमा) अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो। सिरिजमा नेपाल १-० ले अघि रहेको छ।
नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ। पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो।


























